Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर महानगर प्रमुखद्वारा आसामका मुख्यमन्त्रीलाई रातो मच्छिन्द्रनाथको रथयात्रा अवलोकनका लागि निमन्त्रणा

ललितपुर महानगर प्रमुखद्वारा आसामका मुख्यमन्त्रीलाई रातो मच्छिन्द्रनाथको रथयात्रा अवलोकनका लागि निमन्त्रणा

दैनिकी न्यूज

३०, माघ २०८१
ललितपुर महानगर प्रमुखद्वारा आसामका मुख्यमन्त्रीलाई रातो मच्छिन्द्रनाथको रथयात्रा अवलोकनका लागि निमन्त्रणा
images

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आसामका मुख्यमन्त्री हिमंत बिस्वा शर्मालाई रातो मच्छिन्द्रनाथको रथयात्रा रथयात्रा अवलोकनका लागि निमन्त्रणा दिएका छन्।

Dainikeenews advertise Final Health.jpg

गुहाटी विश्वविद्यालयले आयोजना गरेको भारत–नेपाल सम्बन्धको जरा गुरु मत्स्येन्द्रनाथको दृष्टिकोण बिषयक अन्तर्राष्ट्रिय संगोष्ठीको मंगलबार आयोजित समापन समारोहमा महानगर प्रमुख महर्जनले आसामका संस्कृति मन्त्री विमल बोरा मार्फत निमन्त्रणा पठाएका हुन् । महानगर प्रमुख महर्जनले संस्कृतिमन्त्रीसहित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक र आसामबासीलाई रातो मच्छिन्द्रनाथको रथयात्रा अवलोकन गरी ललितपुरको जात्रापर्व संस्कृति, सभ्यता र परम्परागत भेषभुषाको जानकारी लिनका लागि निमन्त्रणा दिएको हो ।

Final Advertise aayurberdik.jpg
सो अवसरमा महानगरप्रमुख महर्जनले रथ बनाउँदा प्रयोग हुने वेत नेपाल ल्याउँदा भोग्नुपर्ने कानुनी र प्राविधिक अड्चन फुकाएर सजिलो बनाइदिन समेत आसामका संस्कृतिमन्त्री समक्ष आग्रह गरे । 'रथलाई बलियो बनाउन गुणस्तरीय वेत सजिलै नेपाल लैजान सक्ने वातावरण हुनुपर्छ, वेतको प्रयोग मात्रैले रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ, रथमा किलाकाँटाको प्रयोग गरिदैँन,रथ बनाउन प्रयोग हुने वेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु, परापूर्वकालदेखि चलिआएको व्यवस्थालाई जोगाउनका लागि हामीले ध्यान दिएका छौं, यसमा सहजताको अपेक्षा गर्दछु।' उनले भने ।
उनले रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध भएको बताउँदै काठमाडौं र आसामबीच सिधैं हवाइजहाजबाट यात्राको व्यवस्था मिलाउनुपर्ने बताए । 'म नेपाल फर्किएर पर्यटनमन्त्रीसँग यस विषयमा कुरा गर्छु, यताबाट पनि प्रबन्ध मिलाउनुस् ।' उनले भने । काठमाडौंबाट सिधैं हवाइयात्राको व्यवस्था हुँदा सांस्कृतिक, धार्मिक लगायत पर्यटन प्रबर्द्धनका लागि समेत यसले सहयोग पुग्ने उनको भनाई थियो । नगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रालाई अन्तर्राष्ट्रिय रुपमा थप परिचित बनाउँदै नेपालको कला, संस्कृति र जात्रापर्वमा विदेशी नियोगका प्रतिनिधिलाई यस अघिदेखि नै रथयात्रा अवलोकनका लागि आमन्त्रण गरिएको बताए । उनले रातो मच्छिन्द्रनाथको बारेमा थप अनुसन्धान आवश्यक भएको प्रष्ट पार्दै गुहाटी र ललितपुर महानगर मिलेर थप अध्ययन अनुसन्धान गर्नुपर्ने धारणा राखे ।
आसामका संस्कृति मन्त्री विमल बोराले रातो मच्छिन्द्रनाथले नेपाल र आसामबीच आत्मीय सम्बन्ध स्थापित गरेको बताए । उनले संस्कृति र इतिहास संरक्षणको लागि यो अन्तर्राष्ट्रिय सम्मेलन कोशेढुंगा भएको धारणा राखे ।
कार्यक्रममा गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथ भौतिक, सांस्कृतिक सम्बन्ध कायम गरेको बताए। 'रातो मच्छिन्द्रनाथको बिषयले दुई देशका नागरिकहरुबीच प्रगाढ सम्बन्ध बनाएको छ, त्यो महत्वपूर्ण छ ।' उनले भने । सोमबार र मंगलबार भएको सम्मेलनमा नेपाल र भारतको आसामबाट १५ वटा कार्यपत्र प्रस्तुत भइ बृहत् छलफल भएको थियो ।

images
प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०७:१५:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology