ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार जिल्लाका पत्रकारहरूलाई आयुर्वेद सेवाको महत्व र उपचार विधिबारे जानकारी गराउँदै अन्तरक्रिया कार्यक्रम सम्पन गरेको हो ।
निमित्त कार्यालय प्रमुख सृजना मरासिनील यस आर्थिक वर्षमा कार्यालयले प्राप्त गरेको कार्य प्रगतिको बारेमा प्रस्तुतीकरण गरेकी थिइन । उनले चिकित्सालयले निःशुल्क रुपमा धेरै सेवाहरु प्रदान गर्दै आएपनि अझै पनि नागरिकहरु आयुर्वेदप्रति जानकार नरहेकाले प्रचार प्रसार गरिदिन पत्रकारहरूलाई आग्रह गरिन् । उनले भनिन्, ‘‘न्यूनतम स्रोत र साधनका बाबजुद पनि गुणस्तरीय सेवा प्रवाह गरिरहेका छौं । वैकल्पिक चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । पत्रकारहरूको माध्यमबाट आमजनतालाई सेवा र उपलब्ध सुविधाबारे जानकारी दिन सकिने विश्वास व्यक्त गरेका छौं ।’’ वैकल्पिक उपचार प्रणालीको प्रचार–प्रसार तथा नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता अन्तक्र्रियाहरू उपयोगी हुने उनको भनाइ थियो ।

चिकित्सालयले हालसम्म प्रदान गर्दै आएका सेवाहरूमा बहिरङ्ग सेवा, सरकारद्वारा निःशुल्क उपलब्ध गराइने २३ प्रकारका आयुर्वेद औषधि वितरण, ल्याब परीक्षण, अकुपंचर, पञ्चकर्म, स्वस्थ जीवन शैलीसम्बन्धी परामर्श सेवा, जेष्ठ नागरिक लक्षित विशेष सेवा लगायत उल्लेखनीय रहेको डा. प्रेरक रेग्मीले जानकारी गराए । उनका अनुसार चालु आर्थिक वर्षमा २ हजार १५९ जनाले ओपीडी सेवा लिएकोमा अघिल्लो आर्थिक वर्षमा यो संख्या ७ हजार २०६ रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी अग्रज पत्रकार प्रभुनारायण बस्नेतले वैकल्पिक चिकित्सा प्रणालीको महत्वबारे चर्चा गर्दै एलोपेथिक औषधिको अत्यधिक प्रयोगले दीर्घकालीन समस्या निम्त्याउन सक्ने तर्क प्रस्तुत गरे । उनले आयुर्वेद पद्धतिलाई शास्त्रीय, प्राकृतिक र दीर्घकालीन प्रभाव दिने उपचार विधिका रूपमा व्याख्या गर्दै राज्यले यसप्रति आवश्यक ध्यान दिनु पर्नेमा जोड दिए । बस्नेतले सरकारी नीति तथा बजेटमा वैकल्पिक चिकित्सा प्रणालीलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए ।
कार्यक्रमले आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीको महत्व, उपलब्ध सेवाहरू, सेवा विस्तारको चुनौती तथा भविष्यमा यसले लिन सक्ने दिशा सम्बन्धी बहसको वातावरण सिर्जना गरेको थियो । पत्रकारहरूलाई आमजनसमुदायसम्म यस्ता सेवाको जानकारी पु¥याउने माध्यमका रूपमा उपयोग गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम सफल भएको आयोजक पक्षको भनाइ छ ।
यस किसिमका कार्यक्रमले जनताको स्वास्थ्यप्रति जिम्मेवारीबोध गराउने मात्र नभई, परम्परागत चिकित्सा पद्धतिहरूको प्रचार र सम्वद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले बताए ।
स्रोतसाधनको अभावका बाबजुद पनि सेवा निरन्तरता कायम राख्न चिकित्सालयको प्रतिबद्धता उदाहरणीय रहेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रम आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयका अध्यक्ष नन्द केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।