काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा अलि उत्तरतिर सरेको छ, जसका कारण वर्षाको प्रभाव बढेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार केही समय निष्क्रियजस्तो देखिएको मनसुन अब पूर्वी नेपालबाट पुनः सक्रिय भएको छ। उनले आइतबार बिहानसम्म चुरे र पहाडी क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना औँल्याएका छन्।
बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा आइतबार बिहान र दिउँसो भारी वर्षा हुने अनुमान गरिएको छ भने आज राति पश्चिम नेपालका केही स्थानहरूमा अति भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा, साथै बाँकी भू–भागका केही स्थानहरूमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भू–भागका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली हुने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, साथै अन्य प्रदेशका केही स्थानहरूमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागले सम्भावित भारी वर्षा र बाढीपहिरोको जोखिमका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।