काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा अवस्थित आदिम नेशनल कलेजमा ‘क्याम्पस टु करियर’ शीर्षकको वर्डप्रेससम्बन्धी शैक्षिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । वर्डप्रेस काठमाडौँ समुदाय र आदिम नेशनल कलेजको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा वर्डप्रेसमार्फत प्रविधि क्षेत्रमा करियर निर्माणका सम्भावना, अवसर र व्यवहारिक ज्ञानबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा नबिन जयसवालले “वर्डप्रेसको साथ करियर निर्माणः अवसरहरू, मार्गहरू र वास्तविक कथाहरू” विषयक कार्यपत्र प्रस्तुत गरे । उनले वर्डप्रेसलाई केवल वेबसाइट निर्माणको माध्यम मात्र नभई रोजगारी, फ्रील्यान्सिङ, उद्यमशीलता तथा अन्तर्राष्ट्रिय अवसरहरूसम्म पुग्ने प्रभावकारी प्लेटफर्मका रूपमा उपयोग गर्न सकिने विषयमा प्रकाश पारे ।
त्यसैगरी दोस्रो सत्रमा मनीष प्याथाले “वर्डप्रेसको साथ वेबसाइट बनाउनुहोस्– कुनै कोडिङ आवश्यक छैन” विषयक कार्यपत्र प्रस्तुत गरे । उनले प्राविधिक पृष्ठभूमि नभएका विद्यार्थीहरूले पनि वर्डप्रेस प्रयोग गरी सजिलै वेबसाइट निर्माण गर्न सक्ने व्यावहारिक अभ्याससहित जानकारी दिए ।

कार्यक्रमअन्तर्गत ‘वर्डप्रेस क्याम्पस कनेक्ट’ पहलको उद्देश्य र महत्त्वबारे पनि जानकारी गराइएको थियो । क्याम्पस कनेक्ट विश्वकै सबैभन्दा लोकप्रिय कन्टेन्ट म्यानेजमेन्ट सिस्टम वर्डप्रेसमा रुचि राख्ने कलेजका विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको निःशुल्क समुदाय–सञ्चालित शैक्षिक कार्यक्रम हो । यस कार्यक्रममार्फत विद्यार्थीहरूले उद्योग विज्ञहरूबाट प्रत्यक्ष मार्गदर्शन, व्यावहारिक सीप, प्रविधि क्षेत्रका नवीनतम प्रवृत्तिबारे जानकारी तथा नेटवर्किङको अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रममा बोल्दै आदिम नेशनल कलेजका क्याम्पस प्रमुख शंकरप्रसाद शर्माले विद्यार्थीहरूको उत्साहजनक सहभागिताप्रति खुशी व्यक्त गरे । उनले प्रविधि र करियर विकाससँग जोडिएका यस्ता कार्यक्रमहरू समय–समयमा आयोजना हुनुपर्नेमा जोड दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक ज्ञान र भविष्यको करियर मार्ग पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा आत्मनिर्भर बन्न उत्प्रेरित गर्नुका साथै वर्डप्रेसमार्फत डिजिटल सीप विकास र रोजगारीका सम्भावनाबारे सकारात्मक सन्देश दिएको आयोजक पक्षले जनाएको छ ।