काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । विसं २०४८ सालदेखि निरन्तर रूपमा डडेलधुरा निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका देउवा यसपटक भने चुनावी मैदानमा नउत्रिने भएका हुन् ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पूर्वप्रधानमन्त्री देउवाले यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका हुन् । लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय देउवाको यो निर्णयलाई नेपाली राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
चार पटक प्रधानमन्त्री भइसकेका देउवा २०४८ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसयता भएका सबै प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट विजयी हुँदै आएका थिए । डडेलधुरामा उनको बलियो राजनीतिक पकड रहँदै आएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवार सार्वजनिक गर्न व्यस्त छन् ।