Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

२९, जेठ २०८३
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न
images

ललितपुर । समुदायमा स्वास्थ्य सेवाबाट वञ्चित तथा आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरूको स्वास्थ्य संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको पुल्चोकस्थित निजानन्द आश्रममा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरको आयोजनामा तथा निजानन्द आश्रमको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो।

कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण, रोगको प्रारम्भिक पहिचान तथा आयुर्वेदिक रसायन चिकित्सामार्फत स्वास्थ्य संरक्षण र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूको शारीरिक परीक्षण, रक्तचाप जाँच तथा मधुमेह परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आवश्यक देखिएका सेवाग्राहीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

कार्यक्रममा ५१ जना ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरकी कार्यालय प्रमुख डा. पुनम नेपालले जानकारी दिइन्। उनका अनुसार आयुर्वेदमा वर्णित रसायन चिकित्साले ज्येष्ठ नागरिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले अश्वगन्धा, आमलकी चूर्णलगायतका रसायन औषधिहरू वितरण गरिएको हो।

डा. नेपालले ज्येष्ठ नागरिकहरूलाई उमेरअनुसारको सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त आराम तथा स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएकी थिइन्। कार्यक्रममा सहभागीहरूलाई आयुर्वेदले सुझाएका आहार–विहारका नियमहरूबारे जानकारी दिँदै स्वस्थ र गुणस्तरीय जीवनयापनका लागि जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गरिएको थियो।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शबाट लाभान्वित भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। चिकित्सालयले दैनिक रूपमा ज्येष्ठ नागरिक सेवाग्राहीहरूलाई निःशुल्क ओपिडी टिकट उपलब्ध गराउनुका साथै आवश्यक रसायन औषधिहरू पनि निःशुल्क वितरण गर्दै आएको जनाएको छ।

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था सुधार तथा स्वस्थ र सम्मानित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता स्वास्थ्य प्रवर्द्धन कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने चिकित्सालयले जनाएको छ।

images
प्रकाशित मिति :जेठ २९, २०८३ शुक्रवार - ०५:४०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology