Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा उभिने

नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा उभिने

दैनिकी न्यूज

१८, जेठ २०७७
नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा उभिने
images

काठमाडौँ, जेठ १८ । नेपाली काँग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

संसद्मा प्रमुख प्रतिपक्षको भूमिकाका रहेको काँग्रेसको यो निर्णयसँगै सरकारलाई संविधान संशोधनको विधेयकलाई संसद्बाट पास गराउन बलियो आधार मिलेको छ । सरकारले यस विषयमा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नुपर्नेमा काँग्रेसले जोड दिएको छ । तर पार्टी जनुसुकै अवस्थामा पनि संविधान संंशोधनको पक्षमा उभिने निचोडमा काँग्रेस पुगेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

बैठकको प्रारम्भमा पार्टी सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भूभाग नेपालकै भएको उल्लेख गर्दै त्यसलाई विभिन्न प्रमाणले पुष्टी गरेको बताउनुभएको थियो । यस विषयमा सरकारले संसद्मा ल्याएको विधेयकलाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै देउवाले सरकारले संविधान संशोधनको विषयमा यसअघि पार्टीसित आवश्यक समन्वय भने नभएको गुनासो गर्नुभएको थियो । ‘तर पनि हामी संविधान संशोधनको पक्षमा उभिनुपर्छ’ भन्ने विचार बैठकमा सभापति देउवाले व्यक्त गर्नुभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

बैठकमा संविधान संशोधनका विषयमा खुलेर धारणा राख्न केन्द्रीय सदस्यहरुलाई देउवाले आह्वान गर्नुभएको थियो । त्यसपछि पार्टीका दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले यस विषयमा आ आफना धारणा प्रस्तुत गर्नुभएको थियो । पार्टीले यस अघिको पदाधिकारीको बैठकले संविधान संशोधनको पक्षमा उभिने भन्दै यस विषयको अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ०७:०८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology