Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संविधान संशोधन विधेयक पारित हुने निश्चित

संविधान संशोधन विधेयक पारित हुने निश्चित

दैनिकी न्यूज

१९, जेठ २०७७
संविधान संशोधन विधेयक पारित हुने निश्चित
images

काठमाडौं । संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस भएको छ । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन नेकपा र नेपाली कांग्रेसले समर्थन गर्ने निश्चित भएपछि दुई तिहाइबाट पारित हुने सुनिश्चित भएको हो ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्न मागेको अनुमतिमा विरोधको सूचना नआएकाले सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पेस गर्न अनुमति दिएका थिए । सरकारले नेपालको अद्यावधिक नक्सा प्रकाशन गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नेपालको नक्सा पनि परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा संशोधनका लागि सरकारले संसद् सचिवालयमा केही दिनअघि संशोधन विधेयक दर्ता गराएको थियो । अद्यावधिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र पनि समावेश छन् ।

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अद्यावधिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक गत ९ जेठमा संसद् सचिवालयमा दर्ता भएको थियो ।

१४ जेठको संसद् बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्ने उल्लेख थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले ‘केन्द्रीय समितिबाट निर्णय गर्छौं’ भनी समय मागगरेपछि १४ जेठको कार्यसूचीबाट संविधान संशोधन हटाइएको थियो ।

राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - ०८:१०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology