काठमाडौं । देशका विभिन्न ठाउँमा निर्माण भएका क्वारेन्टिन अव्यवस्थित रहेको भन्दै सांसदहरुले तत्काल क्वारेन्टिनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको बनाउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले क्वारेन्टिनलाई व्यवस्थित नगर्ने हो भने संक्रमणले जोखिम निम्त्याउने सांसदहरुले चेतावनी दिए ।
सांसद उमाकान्त चौधरीले तराईमा रहेका सबै क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्ड विरुद्धको रहेको बताए । उनले केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन बनाउन पनि माग गरे । ‘अव्यवस्थित र मापदण्ड विपरीत बनाइएका क्वारेन्टिनकै कारण कोरोना संक्रमण उत्पादन गर्ने थलोको रुपमा देखिन थालेको छ । क्वारेन्टिनलाई व्यवस्थित बनाउन र पीसीआरको दायरा तत्काल बढाउन अहिलेको आवश्यकता हो, राहत उद्धार र परीक्षणलाई ध्यान नदिने हो भने नेपालमा कोरोना संक्रमणको साथै रोग र भोकले पीडित हुनेको संख्या बढ्छ, सरकारले ध्यान देओस्’ सांसद चौधरीले भने ।
यस्तै सांसद अमृतादेवी अग्रहरीले क्वारेन्टिन व्यवस्थित नभएको भन्दै देशको सरकार अदुरदर्शी भएपछि जनताले दुख पाउनुपरेको आरोप लगाइन । उनले कपिलबस्तु, वीरगञ्ज, सर्लाही, रौतहटमा कोरोना महामारी दिनप्रतिदिन बढ्दै गएको बताउँदै उच्च जोखिममा रहेका जिल्लामा देशको सरकार मौन बसेको आरोप लगाइन । उनले भनिन, ‘कपिलबस्तुमा आइसोलेसन बेड नै छैन, न खानाको व्यवस्था, न डाक्टरको व्यवस्था, न ट्वाइलेट बाथरुमको व्यवस्था छ, एक ट्वाईलेट सय जनाले प्रयोग गरिरहेका छन्, यस्तो अवस्थामा सरकारको लक्ष्य के हो ? नियत के हो ?’ उनले प्रश्न गरिन ।