काठमाडौँ । ३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा बन्द गरिएको छ । पीपीई लगाएरै संक्रमित जाँचेका एक चिकित्सक र दुई नर्समा संक्रमण सरेपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय लिएको अस्पतालले जनाएको छ ।
अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीका अनुसार ट्रेसिङमा फेला परेकन अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको हिजै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।
आज अझै केही स्वास्थ्यकर्मीको स्वाब पठाइने उनले बताइन् । ‘राम्रै पीपीई लगाएर बिरामी हेरेका स्वास्थ्यकर्मीलाई संक्रमण सऱ्यो,’ उनले भनिन्,‘यस्तो भएपछि अस्पतालका अन्य बिरामी र नजिकको समुदायमा समेत संक्रमण फैलिने सम्भावना र त्रास भयो । अनि हामी आफैले अस्पतालको सेवा बन्द गरेको हो, सरकारले सिल गरेको होइन ।’
उनका अनुसार शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिनेछ भने अन्य बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ ।