Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बन्दाबन्दीको अवज्ञा गर्दै पसल खुले

बन्दाबन्दीको अवज्ञा गर्दै पसल खुले

दैनिकी न्यूज

२२, जेठ २०७७
बन्दाबन्दीको अवज्ञा गर्दै पसल खुले
images

काठमाडौं । बन्दाबन्दी खुकुलो बनाई व्यवसाय सञ्चालन गर्न दिन पटकपटक माग गरे पनि सरकारले बेवास्ता गरी जेठ ३२ गतेसम्म लकडाउन बढाएपछि व्यवसायीहरूले बन्दाबन्दी अवज्ञा गर्न थालेका छन् । मुलुकका प्रमुख शहरहरूका धेरैजसो व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्दै बुधवार व्यवसाय सञ्चालन गरे ।

बुधवार काठमाडौं उपत्यकाको न्यूरोड, खिचापोखरी, असन, इन्द्रचोक बानेश्वर, सिनामंगल, गौशाला, पुतलीसडक, सुन्धारा, कुमारीपाटी, लगनखेललगायत धेरैजसो ठाउँमा व्यवसायीहरूले पसल खोले । लामो समयको बन्दाबन्दीका कारण व्यवसाय ठप्प हुँदा आफूहरूले ठूलो मार खेप्नु परेकाले पसल खोल्न बाध्य भएको उनीहरूको भनाइ छ ।

खाद्यान्न, कपडा, शृंगार, मदिरा, इलेक्ट्रोनिक्स पसल खुलेका हुन् । बिहान करीब २/३ घण्टा खुलेका पसललाई प्रहरीले केही बेरपछि बन्द गर्न लगाएको व्यवसायीहरूले बताएका छन् । बिहान केही समयमात्रै व्यवसाय सञ्चालन गर्न पाउँदा पनि व्यवसायीहरूमा उत्साह थपिएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका आपूर्ति समिति सभापति दुर्गाराज श्रेष्ठले बताए । उपत्यकाबाहिरका वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा आदि ठूला शहरका व्यवसायीहरूले पनि पसल तथा व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले सरकारको निर्णय अवज्ञा गर्ने घोषणा गरेअनुसार नै बुधवार पसल सञ्चालन गरेका हुन् ।

व्यवसायीहरूले मंगलवारदेखि नै फाटफुट मात्रामा पसलहरू खोलेका थिए । बुधवार त्यसको संख्या बढ्दै २०/३० प्रतिशत पुगेको छ । यो क्रम बिहीवार ६० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने नेपाल उद्योग वाणिज्य महासंघका जिल्लारनगर उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।

सञ्चालन गरिएका धेरैजसो पसल तथा व्यवसायमा व्यवसायीहरू आफै सजग भएर स्वास्थ्य सतर्कताका उपायहरू अपनाएको र भौतिक दूरीको समेत पूर्ण पालना गरिएको व्यवसायीहरूले बताएका छन् ।

मंगलवार नै निजीक्षेत्रका प्रतिनिधिहरूको टोलीले उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूवार्धार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग बन्दाबन्दीको विकल्प खोज्न र व्यवसाय सञ्चालन गर्न दिन माग गरेको थियो । सरकार यसमा सकारात्मक पनि थियो । तर, सरकारले बन्दाबन्दी खुकुलो पार्ने निर्णय गर्नुअगावै व्यवसाय सञ्चालन गर्ने क्रम बढेको उपाध्यक्ष प्रधानले बताए ।

आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - ०७:१५:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology