Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना बीमा स्थगित, विक्री भइसकेको बीमालेखले मान्यता पाउने

कोरोना बीमा स्थगित, विक्री भइसकेको बीमालेखले मान्यता पाउने

दैनिकी न्यूज

२३, जेठ २०७७
कोरोना बीमा स्थगित, विक्री भइसकेको बीमालेखले मान्यता पाउने
images

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बीमा कम्पनीको दायित्व बढ्ने भएपछि कोभिड–१९ बीमालेख (कोरोना बीमा) को कारोबार स्थगित गरिएको छ । नेपाल बीमक संघको अनुरोधमा बीमा समितिले बिहीवार कोरोना बीमाको कारोबार हालका लागि स्थगित गर्ने निर्णय गरेको हो । यद्यपि, हालसम्म विक्री भएको बीमालेखले भने निरन्तरता पाउने छन् । शुक्रवारदेखि भने नयाँ बीमालेख विक्री नगरिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पौडेलका अनुसार कारोबारमा जोखिम बढेपछि हाललाई यो व्यवसाय स्थगित गर्ने निर्णय गरिएको हो ।

समितिले गत वैशाख ४ गते कोभिड–१९ बीमालेख जारी गरेपछि वैशाख ७ गतेदेखि यसको औपचारिक कारोबार शुरू भएको थियो । त्यसयता, यस बीमाप्रति आम मानिसको आकर्षण पनि बढ्दै गएको थियो ।

तर, नेपालमा कोरोना संक्रमित बढ्दै गएको र विदेशी पुनर्बीमा कम्पनीले यस बीमाको पुनर्बीमा गर्न नमाने पछि कारोबार स्थगित गर्नुपर्ने बाध्यता आएको बीमा कम्पनीहरूको भनाइ छ । पुनर्बीमा कम्पनीले यस बीमाको पुनर्बीमा गर्न मानेको भए नेपाली बीमा कम्पनीहरूले आफूले वहन गर्न सक्ने दायित्व राखेर बाँकीको पुनर्बीमा गर्ने बताएका थिए । नेपालमा सञ्चालित अन्य प्रकारका बीमामा पनि यस्तै अभ्यास गरिएको छ । कोरोना बीमाको पनि पुनर्बीमा हुने आशामा नै कम्पनीहरू लघुबीमा पुलमार्फत यो व्यवसाय शुरू गरेका थिए । तर, यस व्यवसायलाई विदेशी पुनर्बीमा कम्पनीहरूले स्वीकार नगरेपछि हालका लागि बीमा कम्पनीहरू यसको कारोबारबाट पछाडि हटेका हुन् ।

बीमा समितिका अनुसार बुधवारसम्म ३ लाखभन्दा बढी व्यक्तिले यो बीमा गरेका छन् । उनीहरूले किनेको बीमालेखको आधारमा यसको कुल दायित्व झन्डै २७ अर्ब रुपैयाँ बराबरको छ । त्यसमा पुनर्बीमा कम्पनीबाहेक २० निर्जीवन बीमा कम्पनीलाई मात्र झन्डै २२ अर्ब रुपैयाँ बराबरको दायित्व गर्नुपर्ने हुन्छ । तर, २० निर्जीवन बीमा कम्पनीको जम्मा चुक्तापूँजी नै १६ अर्ब रुपैयाँको हाराहारीमा छ । यसरी पूँजीभन्दा दायित्व बढी भएपछि कोरोना बीमा कारोबार स्थगित गर्नु परेको संघका महासचिव चंकी क्षत्री बताउँछन् ।

पोलिसी बनाउँदा कम्पनीहरूले १० प्रतिशतको अनुपातमा दाबी परेमा दायित्व वहन गर्न सकिने बताएका थिए । तर, बढ्दो कोरोना संक्रमितका कारण यति नै दाबी आउँछ भन्ने टुंगो पनि नभएको कम्पनीहरूको भनाइ छ ।

अहिले एक निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँको हाराहारी छ । ३ लाख बीमितको दायित्व सबै कम्पनीलाई भाग लगाउँदा एक कम्पनीको भाग मा नै १ अर्ब रुपैयाँ बराबरको दायित्व हुने भएको छ । भविष्यमा सबै बीमित संक्रमित भएको अवस्थामा दाबी भुक्तानी गर्न नसक्ने अवस्था आउने भएपछि कारोबारलाई हालका लागी रोकेको बीमक संघका महासचिव चंकी क्षत्रीले बताए ।

‘दायित्व बढी भएपछि हामीले बीमा समितिलाई कारोबार स्थगित गरिदिन लिखित अनुरोध गरेका थियौं । समितिले यही अनुरोधको आधारमा निर्णय गरेको हो,’ उनले भने, ‘यद्यपि, हालसम्मका बीमितहरूको दायित्व भने वहन गर्न सक्छौं । यसमा बीमितहरू ढुक्क भएर बस्दा हुन्छ ।’

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाल कोरोनाको जोखिम उच्च अझै छ । ‘समाजमा कुनै एक जना संक्रमित भएमा सबैमा सर्ने खतरा छ । यस अवस्थामा यस बीमा व्यवसाय अगाडि बढाउँदा दायित्व वहन गर्न नसक्ने अवस्था आउने देखियो,’ महासचिव क्षत्रीले भने ।

यो बीमा सेवा पुनः सञ्चालनमा ल्याउन सकिने समिति तथा कम्पनीहरूको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेटमार्फत बीमाशुल्कमा ५० प्रतिशत अनुदान दिएर कोरोना बीमा अगाडि बढाउने घोषणा गरेको छ । यस बीमालाई सरकारको नीतिअनुसार पुनः सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

‘सरकारले के–कसरी यो बीमालाई अगाडि बढाउँछ भन्ने बिषयमा केही अन्योल छ । त्यसैले अहिलेलाई यस बीमालाई स्थगित गरेका हौं । सरकारसँग आवश्यक समन्वय गरेर यो पुनः सुचारु गर्छौं,’ उनले भने, ‘हामीले विदेशी पुनर्बीमा कम्पनीसँग पनि यस विषयमा छलफल गरेका छौं । उनीहरूबाट राम्रै प्रतिक्रिया आयो भने पुनः सञ्चालन गर्न समस्या हुँदैन ।’ यद्यपि, अहिलेको भन्दा फरक मोडालिटीमा यसको सेवा सञ्चालन गरिने उनको भनाइ छ ।

संघका महासचिव क्षत्रीले सरकारले प्रिमियममा सहुलियत दिएर मात्र यो व्यवसाय सञ्चालन गर्न नसकिने बताए । सरकारले दाबी भुक्तानीमा समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारले कोरोना बीमा अगाडि बढाउने भने पनि त्यसको मोडालिटी अझै बाहिर ल्याएको छैन । बीमाशुल्कमा मात्र अनुदान दिएर दायित्व वहन गर्न सकिँदैन,’ उनले भने, ‘अब सरकारले ल्याउने कार्यविधिलगायत मोडालिटीका आधारमा हामी यो व्यवसायलाई अगाडि बढाउन सक्छौं ।’

पुलमार्फत यो कारोबार गरिएकाले यसबाट हुने व्यवसाय र जोखिम सबै निर्जीवन बीमा कम्पनीहरूलाई बराबर बाँडफाँट गर्ने व्यवस्था गरिएको थियो । संघका अनुसार पुनर्बीमामार्फत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउने व्यवस्था थियो भने बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिएको थियो । बीमालेख अनुसार रू। १ लाख र रू। ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्ने व्यवस्था थियो । रू। १ लाख बीमांकको बीमा गर्दा प्रतिव्यक्ति रू। १ हजार र रू। ५० हजारको बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू। ५०० बीमा शुल्क लाग्ने व्यवस्था गरिएको थियो । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको थियो । बीमालेखअनुसार बीमित व्यक्तिले कोरोना संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी पाउने छन् । अहिले बीमाशुल्कबापत १६ करोड रुपैयाँ संकलन भएको छ ।

आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - ०६:३८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology