Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पसल खुले तर आएनन् उपभोक्ता

पसल खुले तर आएनन् उपभोक्ता

दैनिकी न्यूज

२४, जेठ २०७७
पसल खुले तर आएनन् उपभोक्ता
images

काठमाडौं । मीना श्रेष्ठले दुई महीना घर बसाइपछि शुक्रवार पसल खोलेकी छन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि शुक्रवार पसल सञ्चालन गरेकी हुन् । पसल खुला भए पनि उपभोक्ता भने एकजना पनि आएका छैनन् ।

कोरोना महामारीकै बीच सञ्चालन गरिएको पसलमा सामग्री खरीद गर्ने एकजना पनि नआउँदा मीना उदास देखिन्छन् । चौबीसै घण्टा व्यस्त रहने काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडको सडकमा नगन्य मात्रामा मनिसको आवतजावत रहेको छ ।

त्यसमाथि कारोनाको डर एकातिर आवश्यकबाहेक अन्य कामकाजका लगि मानिस बाहिर निस्केका छैनन् । ‘मानिसको आवतजावत नै कम भएपछि सामग्री खरीद गर्नका लागि मानिस आउने त कुरै भएन, लकडाउनकै कारण कतिलाई त अहिले दैनिकी चलाउन पनि समस्या भएको छ, खानकै लागि समस्या भएपछि लत्ताकपडा किन्न आउने कुरै भएन, यो समस्या लामो समयसम्म रहने हो भने व्यापार गरी खान ठूलो समस्या हुनेछ’, दुःखी हुँदै मीनाले भनिन् ।

त्यसैगरी नुनदेखि सुनसम्म पाइने काठमाडौंको अर्को प्रमुख केन्द्र मानिने असन बजारको समस्या पनि न्यूरोडको भन्दा कम छैन । यहाँ पनि पसल खुला रहे पनि आवतजावत कम हुँदा सामग्री खरीद गर्नेको संख्या छैन ।

असनमा चार वर्षदेखि जुत्ता पसल सञ्चालन गर्दै आएका धादिङ स्थायी घर भएका अर्का व्यापारी श्याम लामाको गुनासो पनि मीनाको जस्तै छ । उनले दुई महीनापछि शुक्रवार पसल खुला गरेका हुन् तर एकजोर जुत्ता पनि विक्री भएको छैन । ‘जुत्ता किन्न आउने कुरा के गर्ने पसलमा पनि आँखा लगाउने पनि कोही छैन, यसरी नै समय बित्ने हो भने बाँच्न मुस्किल भइसक्यो’, उनले भने ।

दैनिकी सञ्चालन गर्न समस्या भए पनि काठमाडौंका भित्री क्षेत्रमा अत्यावश्यकसहित अन्य केही पसल पनि खोल्न शुरु भएका छन् । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण सरकारले अहिले देश पूरै लकडाउन गरेको छ । दैनिकीलाई सहज बनाउँदै विस्तारै लकडाउन खोल्ने विषयमा सरकारका पदाधिकारीबीच छलफल भइरहेकै समयमा व्यापारीले भने दैनिकी चलाउन समस्या भएको भन्दै केही व्यवसाय सञ्चालन गरेका छन् ।

लकडाउनको मोडालिटी परिवर्तन गरी नागरिकको दैनिकी सहज बनाउने विषयमा सरकार सकारात्मक रहेको भए पनि के कसरी व्यापार व्यवसाय सञ्चालन गर्ने भन्नेबारे यकिन निर्णय आउन बाँकी नै छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन पटक पटक गरी आगामी जेठ ३२ गतेसम्मलाई निरन्तरता दिएको छ ।

लामो समयसम्म घरमा थुनिएका नागरिक भाइरस फैलिरहेकै भए पनि जनजीवन सहज बनाउने प्रयास गरिरहेका छन् । बिहीवारदेखि पसलमात्रै होइन केही निजी सवारी साधन पनि सञ्चालन भएकाले सडकमा सवारीको चाप अघिल्ला दिनको तुलनामा बढेको देखिन्छ । रासस

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ०७:१५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology