काठमाडौं । बढुवा समितिले नेपाल प्रहरीमा बिभागीय तर्फको रिक्त कोटामा ७३ जना प्रहरी नायब निरीक्षक (सई) हरुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा ग¥यो । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा शुक्रवार साँझ प्रहरी प्रधान कार्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकले गरेको बढुवा प्रक्रियामा व्यापक असन्तुष्टि उब्जेका छन् । प्रहरी नियमावली, २०७१ ले वरिष्ठता र दक्षतालाई मान्यता दिए पनि बढुवामा सिफारिस गर्दा कानुनको लेखाजोखा नै गरिएको छैन । पहुँच र भनसुनका आधारमा बढुवा गरिएको छ ।
प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्याङ्कनलाई बढुवा गर्ने नियम बनाएको छ । तर, यसपटक पनि नियमावलीले बढुवामा चलखेल गर्ने आधार पनि दिएको छ । एकसय नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङ्कन, २० नम्बर ज्येष्ठता, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेको अनभुव, १० नम्बर शैक्षिक योग्यता, ७.५ नम्बर शारीरिक व्यायाम तथा खेलकुद तथा २ नम्बर सरकारले प्रदान गरेको विभूषणको आधारमा दिइन्छ, जुन नम्बरमा खासै चलखेल हुँदैन । बाँकी साढे १२ नम्बरमध्ये ७.५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ भने ५ नम्बर चुनौतीपूर्ण काम गरेबापत प्रहरी महानिरीक्षकले दिन्छन् । यही १२.५ नम्बरमा चलखेल हुने गरेको छ ।
आइजीपी ज्ञवालीले जाने बेलामा पक्षपातपूर्ण व्यवहार गरेपछि प्रहरी कर्मचारी निरुत्साहित बनेका छन् । उनले अडान लिन नसकेकै कारण बरिष्ठता र कार्यसम्पादनमा राम्रो गर्दै आइरहेको सईहरु पछि परेका छन् । भिआईपीहरुको सुझावको आधारमा उनीहरुको सुरक्षामा खटिएका पीएसओहरु बढुवामा परेको गुनासो प्रहरीमा छ ।
प्रहरीको बढुवामा संगठन प्रमुखले मूल्यांकन गरी बढुवा गर्ने परिपाटी स्थापित गर्न नसकेको आरोप छ । विगतका आइजिपीहरुले जसरी राजनीतिक पहुँचलाई चासो दिएको आरोप आइजीपी ज्ञवालीमाथि लागेको छ । बरिष्ठ सईहरुलाई इन्स्पेक्टर बढुवा नगरी पहुँच हुने भीआईपीहरुका पीओसोहरुलाई मात्र गरिएको छ । ‘अघिल्लो व्याचलाई वास्तै नगरी पछिल्लो व्याचलाई अघि सारियो,’ प्रहरी प्रधान कार्यालयका एक कर्मचारीले भने, ‘त्यसकारण पनि तल्लो दर्जामा कार्यरत कर्मचारीमा वितृष्णा छ ।’
एआईजी शैलेश थापा सदस्य सचिव रहेको बढुवा समितिले गृहमन्त्री र गृहसचिबका जुनियर पीएसओहरुलाई बढुवामा सिफारिस गरेको छ । जसका कारण सिनियर सईहरुको मानमर्दन नभएको बुझिएको छ ।
ज्ञवालीपछि आईजीपीका समेत दाबेदार शैलेश थापा हुन् । ज्ञवालीले अन्तिम समयमा आएर गृहमन्त्रालयसंग आफ्नो सम्बन्ध विगार्न नचाहेरै प्रहरी नियमावलीलाई ख्यान नगरेको पाइएको छ । उनले अरुले जे भन्यो उसै सहिछाप लगाउँदै आएका छन् । छोटो समयका लागि आईजीपी बनेका ज्ञवालीले आफ्नो पदीय मर्यादा कायम राख्न नसकेको आरोप लाग्ने गरेको छ । बढुवा सिफारिसमा २०६० र २०६१ सालमा सई बनेका झन्डै ५० जना छुटेका छन् भने २०६२ मा सई बनेका ८ जनालाई राजनीतिक दबाबमा इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ । जसका कारण प्रहरीमा ठूलो असन्तुष्टि छाएको छ । इन्स्पेक्टर बढुवा सिफारिसमा गृहमन्त्री रामबहादुर थापाका पीएसओ राजनप्रसाद तिमिल्सिना र गृहसचिवका पिएसओ महेश केसी पर्न सफल भएका छन् । दुवैजना २०६२ भदौमा सईमा बढुवा भएका थिए । त्यसैगरी २०६२ कै सईहरु शरण महर्जन, हरि भट्टराई, उत्तमसिंह भण्डारी, टुपेन्द्र श्रेष्ठ, बबिन्द्र नेम्वाङ र टंकवहादुर श्रेष्ठको नाम पनि इन्स्पेक्टर बढुवामा सिफारिस भएको छ । आइजीपी ज्ञवालीका सचिवालयको घुमुवा रमेशप्रसाद तिमिल्सिना पनि इन्स्पेक्टर बढुवामा परेका छन् । एसपी भूपेन्द्र खत्री आइजीपी सचिवालयमा आएपछि उनलाई घुमुवा बनाएर परिचालन गरेका छन् । बबिन्द्र नेम्वाङ पूर्व सभामुख सुवास नेम्वाङको आफन्त रहेको बुझिएको छ ।
प्रहरी स्रोतका अनुसार शरण महर्जनको बढुवाका लागि बालुवाटारबाट प्रधानमन्त्रीका सल्लाहकार राजेश ब्रजाचार्यको दबाब परेको थियो भने लोकमानसिंह कार्कीका पूर्व पिएसओ रहेका उत्तमसिंह भण्डारी पनि बढुवा सिफारिसमा पर्न सफल भएका छन् । बढुवा सिफारिसमा कतिपय कारवाही भोगेकाहरु पनि पर्न सफल भएका छन् । इन्स्पेक्टर बढुवा सिफारिसमा राम्रो काम गर्ने र पुरस्कार पाएकाहरु छुटेका छन् ।


