Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रदेश सरकारलाई एम्बुलेन्स र शव वाहन खरिद गर्न निर्देशन

प्रदेश सरकारलाई एम्बुलेन्स र शव वाहन खरिद गर्न निर्देशन

दैनिकी न्यूज

२४, जेठ २०७७
प्रदेश सरकारलाई एम्बुलेन्स र शव वाहन खरिद गर्न निर्देशन
images

सुर्खेत । कर्णाली प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा विधायन समितिले कोभिड– १९ का सङ्क्रमित बढ्दै गएकाले पूर्वतयारीका लागि आवश्यक एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको छ । समितिका अध्यक्ष पद्म रोकायाको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले प्रदेश सरकारलाई कम्तीमा १० एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको हो ।
समितिका सदस्य धर्मराज रेग्मीले दैलेखमा सङ्क्रमित बोक्ने एम्बुलेन्स नभएको भन्दै दैलेखलगायतका उच्च जोखिममा रहेका जिल्लाका लागि तत्काल खरिद प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिएको बताए। “पिसिआर परीक्षण ढिला भइरहेको छ, जसले गर्दा मृत्युपछि कोरोना पुष्टि हुने अवस्था निम्तियो”, उनले भने, “प्रदेश सरकारलाई नयाँ पिसिआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउन निर्देशन दिएका छौँ ।” विधायन समितिले प्रदेशमै परीक्षण ढिला भए स्वाब लिएर तत्काल अन्य प्रदेशका प्रयोगशालाबाट परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।
समितिले क्वारेन्टिन, आइसोलेशन व्यवस्थापनमा पनि जोड दिन सुझाव दिएको छ । बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी उपस्थित थिए । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन परिषद्मार्फत कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक समन्वय गर्दै आएको छ ।
समितिको बैठकमा परिषद्का काम कारवाहीबारे पनि समीक्षा भएको बताइएको छ । कर्णालीमा हालसम्म ४९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ । रासस

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १९:२२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology