धनगढी । सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी ४५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी सुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिका ४ की ती महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो ।
शनिबार ती महिलामा कोरोना पुष्टि भएको हो । उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् ।
मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षण गरिएको हो । ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ । जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलाली गएकाहरुको खोजी भइरहेको बताए ।
उनले मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको बताए । मलामी गएका सबैको स्वाब परीक्षण गरिने उनले बताए ।