काठमाडौं । प्रहरीले चितवन, ओखलढुंगा र नवलपरासीबाट हातहतियार सहित पक्राउ गरेको छ ।
चितवन, भरतपुर महानगरपालिका–११ भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल १ थान र गोलीको खोका १२ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला परेको हो ।
ओखलढुङगा, सुनकोशी–४ टिपटार बस्ने २६ वर्षीय युबराज राईलाई भरुवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–३ स्थित देउराली सामुदायिक बनमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उक्त बनको बुढीआँप भन्ने स्थानमा सालको रुखमुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।