Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लकडाउन थप कडाई, एकैदिन ४ हजार ११ सय ७ सवारी नियन्त्रणमा

लकडाउन थप कडाई, एकैदिन ४ हजार ११ सय ७ सवारी नियन्त्रणमा

दैनिकी न्यूज

२७, जेठ २०७७
लकडाउन थप कडाई, एकैदिन ४ हजार ११ सय ७ सवारी नियन्त्रणमा
images

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर विना काम, विना पास र अत्यावश्यक काम बाहेक सवारी साधन चलाउने उपर चेकजाँचमा ट्राफिक प्रहरीले थप कडाई गरि नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखी आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाई गरेको हो ।

आज मात्रै काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३ हजार ६४७ वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरी जम्मा ४ हजार १०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए । उनले भने– ‘आज विहान ६ बजेदेखि वेलुका ७ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।’ लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडी नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोध गरेका छन् ।

लकडाउनमा विना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै विना काम बजार घुम्न, आफन्त भेट्न र रमाईलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएपछि त्यस्ता सवारी साधन नियन्त्रणमा लिनु परेको ढकालले बताए ।

केहि दिन यता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः अझ बढी कडाई गर्न थालेको र पासको दुरूपयोग गर्ने उपर पनि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए । उनले काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको बताए ।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १९:४२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology