काठमाडौँ । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका पूर्व आईजीपी रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदैछन् । अदालतले एक वर्षको जेल सजाय तोकेको भएपनि कारागार प्रशासनले २० दिन छुट दिएपछि ठकुरी आज डिल्लीबजार कारागारबाट रिहा हुन लागेको कारागार प्रशासनले जानकारी दिएको छ ।
ठकुरी २०७६ असोज १९ गते सुडान घोटला प्रकरणमा दोषी ठहरिएपछि जेल चलान भएका थिए । नेपाल प्रहरीको संयुक्त राष्ट्र संघ मिसनमा सुडानको डार्फरमा नेपाल प्रहरीका लागि बन्दोबस्ती सामान (एपिसी) खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको बेञ्चले उनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।
ठकुरीबाहेक चारै जना कैद सजाय भुक्तान गरेर छुटिसकेका छन्। एपिसी खरिदमा ४४ करोड रुपैयाँ घोटाला भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआइजीपी, पूर्वएआइजी र ठेकेदार मनोज भारतीविरुद्ध मुद्दा दायर गरेको थियो।
सुडान घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए। सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।