Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

दैनिकी न्यूज

३०, जेठ २०७७
सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु
images

काठमाडौं । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ बाघखोरस्थित सडकमा स.१ त ५१०७ नम्बरको ट्याक्टर बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार उक्त ट्याक्टर चालककी छोरी सोही गाउँपालिका-६ बस्ने ९ वर्षीया बिबिषा पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने ४० वर्षीया सर्मिला तामाङ समान्य घाइते भएकी छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


भोजपुर, रामप्रसाद राई गाउँपालिका-५ स्थित सडकमा को.२ त ८७१४ नम्बरको ट्याक्टर बिहीबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्यक्टरमा सवार सोही ठाउँ बस्ने नन्दलाल पराजुलीको छोरी १४ वर्षीया पुष्पा पराजुलीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । ट्याक्टर चालक हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।


बाग्लुङ, तमानखोला गाउँपालिका-५ खुंखानी बस्ने २५ वर्षीय धन बहादुर श्रीपालीको लु.४ त ४०९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा बिहीबार साँझ घटनास्थलमै मृत्य भएको छ । उक्त ट्याक्टरको सहचालक समेत रहेका श्रीपाली गाउँपालिका-१ सेतारास्थित सडकमा ट्याक्टरबाट अचानक खसेको बताइएको छ । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।


नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-७ समयटोलास्थित सडकमा लु.२३ प २७०१ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँस्थित शिसहानी बस्ने ३५ वर्षीय केशब बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केशबको जेनस अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य २ जना समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।


यसैगरी नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१० ध्रुवटोलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले शुक्रबार बिहान ठक्कर दिँदा मागी खाई हिँड्ने हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी ती महिलाको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १३:२६:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology