काठमाडौं । नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि हुँदा संक्रमण ७२ जिल्लामा फैलिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार चार सय बढीमा संक्रमण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मृत्यु हुनेमा बाराका ५ वर्षे बालक तथा पर्सामा भेटिएको वेवारिसे शवमा कोरोना पुष्टि भएको हो । वीरगञ्जमा जेठ २८ गते वेवारिसे रुपमा फेला परेको र उक्त शवको नारायणी अस्पतालमा स्वाव परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। संक्रमित मध्ये ९ सय १३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सरकारले पीसीआर परीक्षणको दायरा बढाउने भएको छ । हाल दैनिक ५ हजारको परीक्षण भइरहेकोमा त्यसलाई बढाएर असार १५ सम्म दैनिक १० हजार पीसीआर परीक्षण गर्ने प्रवक्ता गौतामले जानकारी दिए ।