काठमाडौं । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधिसभामा मतदान भइरहेको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन पारित गर्ने प्रस्तावमाथि शनिबार प्रतिनिधिसभामा मतदान भइरहेको हो ।
दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा दफावार छलफल सकिएपछि मतदान प्रक्रिया सुरु भएको हो। दफावार प्रस्तावमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जसपाका राजेन्द्र महतो, समाजवादीका उपेन्द्र यादव लगायतका संसदहरुले छलफलमा भाग लिएका थिए।
दफावार छलफलमा सबै राजनीतिक दलहरुले उक्त विधेयकमाथि समर्थन जनाइसकेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्।