काठमाडौं । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।
संशोधनको पक्षमा २५८ र विपक्षमा शून्य मत परेको छ। मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। उनीहरु सबैले संशोधनको पक्षमा मतदान गरेका थिए। यो संसदको जम्मा संख्या २७५ को दूई तिहाईभन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेका थिए।
संशोधन विधेयक पारित भएपछि झण्डै एक मिनेटसम्म सांसदहरुले गडगडाहट ताली बजाएका थिए ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
सो प्रस्तावमाथिको छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।