काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आफूहरूको उद्धारमा प्रयोग भएको चार्टर्ड हवाई भाडामा सरकारको भूमिका खसी व्यापारी जस्तो भएको भन्दै गुनासो गरेका छन् ।
सरकारले केही दिनअघि पहिलोपटक विदेशबाट नेपालीलाई उद्धार गर्ने समय तालिका र हवाई भाडादरको सूची निकालेको थियो । त्यो भाडादर देखेपछि खाडी क्षेत्रलगायत विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदार निकै अत्तालिए । कोरोना भाइरसको प्रभावका कारण लामो समयदेखि रोजगारी खोसिएर बेखर्ची भई विदेशमा दुःख पाएर बसेका कामदारलाई निःशुल्क उद्धार गरी ल्याइदिनुपर्नेमा उल्टै सरकारले चार्टर्ड उद्धारका नाममा साविकको भन्दा चार गुणासम्म बढी भाडा असुल्न खोजेपछि उनीहरू थप पीडामा परेका थिए । विभिन्न मुलुकमा अलपत्र कामदारको पीडामाथि सरकारले साविकको भन्दा बढी भाडा तिराएर नेपाल फर्काउन लागेको भन्दै सर्वत्र दबाब भएको थियो । सोही दबाबपछि बल्ल सरकारले पटक–पटक गरी पुनः तेस्रोपटक हवाई भाडा केही घटाएर नयाँ भाडादर निर्धारण गरेको छ ।
भाडादरमा पनि अझै विभिन्न मुलुकमा दुःख पाइरहेका नेपाली कामदार सन्तुष्ट छैनन् । उनीहरूले सरकारले पछिल्लोपटक निर्धारण गरेको चार्टर्ड उडानको भाडादर पनि अझै साविकको भन्दा तीनगुणा महँगो भएको बताइरहेका छन् । विभिन्न मुलुकमा समस्यामा परेका अधिकांश कामदार एवं सम्बन्धित सरोकारवालाले लामो समय अर्काको भूमिमा बेखर्ची भई दुःख पाइरहेका नेपालीलाई जतिसक्दो छिटो निःशुल्क रूपमा स्वदेश फर्काउनुपर्नेमा सरकारले उल्टै यति धेरै भाडा उठाई नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई राम्रो कमाइ गराउन चार्टर्ड उडानको अवसर दिलाउन खोजेको आरोप लगाएका छन् ।
उनीहरूको यस्तो आरोपसँगै सामाजिक सञ्जाल लगायत विभिन्न माध्यामबाट चौतर्फी दबाब एवं व्यापक आलोचना भएपछि सरकारले आइतबार पुनः तेस्रोपटक हवाई भाडा घटाएको थियो ।
विदेशमा अलपत्रको उद्धारमा चार्टर्ड उडानको भाडा महँगो भएको भन्दै व्यापक आलोचना भएपछि सरकारले गत शुक्रबार केही भाडा घटाएको थियो । त्यसपछि पुनः आइतबारदेखि लागु हुने गरी तेस्रोपटक भाडा घटाएको हो । यसपटक सरकारले मेलेसिया र खाडीका प्रमुख श्रम गन्तव्यहरूको मात्रै हवाई उडान भाडा घटाइएको छ । अहिले दुईपटक गरी सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।
्राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।