काठमाडौं । बाँके, जुम्ला, डोटी, मोरङ, सिरहामा भएको सडक दुर्घटनामा परी सात जनाको मृत्यू भएको छ ।
बाँके, राप्तिसोनारी गाउँपालिका–१ स्थित सडकमा ना ७ त ५१८ नम्बरको ट्याक्टर सोमबार दिउँसो अनियन्त्रित भई राप्ती नदीमा खस्दा ट्याक्टरमा सवार १९ वर्षीय चुर्ण बहादुर थारु मृत अवस्थामा फेला परेका छन् । उक्त ट्याक्टर फेला परेको छ भने नदीमा बेपत्ता भएका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेका छ ।
जुम्ला, पातारासी गाउँपालिका–६ कोठाभिरस्थित सडकमा भे १ त ७३३२ नम्बरको ट्याक्टर सोमबार साँझ सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा सोही गाउँपालिका–४ बस्ने ४८ वर्षीय जय बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना घाइते भएका २ जनालाई उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटी, बडिकेदार गाउँपालिका–३ सुनालेकस्थित बिपिनगर घांगल सडकमा से१ ख १२६२ नम्बरको मिनीट्रक सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–३ बस्ने ४० वर्षीय डबल पुनमगर र १४ वर्षीय धिरज पुनमगरको घटनास्थलमै मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बेलबारी नगरपालिका–१ लोहन्द्रा पुलस्थित सडकमा को।१ क ३२५० नम्बरको टिपरले को ३२ प ६६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका–७ बस्ने ४९ वर्षीय अशोक लाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, नरहा गाउँपालिका–३ स्थित सडकमा स १ त ४०२८ नम्बरको ट्याक्टर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक सोही ठाउँ बस्ने २० वर्षीय दुर्गेस यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई भूमिजा अस्पताल हुँदै बिराट नर्सिंङ होम बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक २० वर्षीय जितबहादुर यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।