Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सरकारले राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न लगायो रोक, १५ जनाभन्दा बढी भेला पनि निषेध

सरकारले राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न लगायो रोक, १५ जनाभन्दा बढी भेला पनि निषेध

दैनिकी न्यूज

५, आषाढ २०७७
सरकारले राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न लगायो रोक, १५ जनाभन्दा बढी भेला पनि निषेध
images

काठमाडौँ । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।

मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गराउन पनि भनिएको छ । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ ।

जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो । त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहले भनेको छ । गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १८:०३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology