बारा । कलैया उपमहानगरपालिका वडा नं. २३ बैराठपुरस्थित सडकमा अनटेष्ट मिक्चर मेसिन बाटोमा पल्टिएर च्यापिन जाँदा सोमबार बिहान मेसिनका सहचालक सप्तरी घर भएका ३२ वर्षीय उमाकान्त यादवको घटनास्थलमै मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सिमरा उपमहानगरपालिका वडा नं. १६ स्थित सडकमा बा ५२ प ३९९० नम्बरको मोटरसाइकल पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ४ ख ८१६५ नम्बरको ट्रकमा सोमबार दिउँसो ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उक्त मोटरसाइकलका चालक निजगढ नगरपालिका वडा नं. १० रतनपुर बस्ने ३५ वर्षीय डम्बर लामा र मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने ४० वर्षीय राम बहादुर मोक्तान रहेका छन् । दुर्घटनामा लामाको घटनास्थलमै तथा गम्भीर घाइते भएका मोक्तानको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।