Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना देखिएपछि गाउँपालिका एक हप्ता बन्द

कोरोना देखिएपछि गाउँपालिका एक हप्ता बन्द

दैनिकी न्यूज

९, आषाढ २०७७
कोरोना देखिएपछि गाउँपालिका एक हप्ता बन्द
images

तनहुँ । तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् ।

गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवा र इलाका प्रहरी कार्यालय बन्दीपुर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार साँझ बसेको आकस्मिक बैठकले थप सङ्क्रमण हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था दुई हप्ताका लागि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । यसैगरी आँबुखैरेनी गाउँपालिकामा थपिएका तीनमध्ये एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । दुई जना भने क्वारेन्टिनमा रहेका व्यक्ति रहेको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

त्यस्तै भीमाद नगरपालिकामा तीन, घिरिङ गाउँपालिकाका एक कोरोना सङ्क्रमित थपिएका छन् । सोमबार १७ थप भएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ । दश स्थानीय तहमध्ये आठ स्थानीय तहमा कोरोना पुष्टि भएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - १०:१८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology