काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९५ नमुनाको पीसीआर टेस्ट गर्दा ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार मात्र ५३८ जना (पुरुष ४८ जना र महिला ९० जना) मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो, जसमा पुरुष ९ हजार १५ र महिला ९८४ जना रहेका छन् ।
आज थपिएका संक्रमितमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् ।
यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना, रौतहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना, सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना, सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार सोमबार देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ८ सय ५१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
हालसम्म पिपिआरबाट १ लाख ८६ हजार ३६६ जना र आरडिटी विधिबाट २ लाख ७१ हजार ५८४ जनाको परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ६८ पुरुष र ८ महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या २२ सय २४ पुगेको छ, जसमा पुरुष २ हजार ३५ जना र महिला १८९ जना रहेका छन् ।
हालसम्म रसुवा बाहेक ७६ जिल्लामा संक्रमण फैलिएको छ । आज एक जना दैलेखका ४५ वर्षिय पुरुषको निधन भएको छ । यो संगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।