Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रातो मच्छिन्द्रनाथको रथ निर्माणको काम सुरु

रातो मच्छिन्द्रनाथको रथ निर्माणको काम सुरु

दैनिकी न्यूज

१०, आषाढ २०७७
रातो मच्छिन्द्रनाथको रथ निर्माणको काम सुरु
images

काठमाडौंं । बन्दाबन्दीका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण आजदेखि सुरु भएको छ ।

तिथिको आधारमा बनाइने रथ गएको चैत २७ गते साइत पूजा सुरु गर्नुपर्नेमा चैत ११ गतेदेखि लकडाउन भएकाले प्रतीकात्मक रुपमा रथ निर्माण सुरु भयो भनेर जनाउनको लागि साइत पूजा मात्र गरिएको थियो ।

आज बिहान पुल्चोकमा रहेको जोगाम्बर पिठमा रथ निर्माणको लागि क्षमा पूजा गरिएको रथ निर्माण शुरु गरिएको थियो । । अहिलेको लागि रथ बनाउनको लागि प्रशासनले स्वीकृति दिएको छ । त्यस्तै पाटनको तंगलमा रातो मच्छिन्द्रनाथसँगै रथजात्रा गरिने मीननाथको रथ निर्माणको काम गएको असार ३ गतेदेखि सुरु भइसकेको छ ।

यसरी मनाउन थालियो रथयात्रा जात्रा
रातो मच्छिन्द्रनाथलाई वर्षा सहकालका देवता मानिन्छ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागहरूलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सक्ने र सहकाल लाग्ने भन्ने थाह पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई ल्याउने सल्लाह गरे ।

सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।

समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नुन राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नुन थियो भनी जानकारी दिइयो । नुनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाह पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । जात्राका प्रभावले जस्तोसुकै कठीन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ ।
ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । जात्रा अवधिभर ललितपुरका साथै काठमाडौं र भक्तपुर तीनै सहरका भक्तजनको ओइरो लाग्ने गर्छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १०:०७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology