ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक २०७७/०७८ वर्षका लागि ४ अर्ब ८९ करोड १५ लाख ६२ हजारको बजेट ल्याएको छ । महानगरले चालु आवमा ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट ल्याएको थियो ।
ललितपुरस्थित डिएभि स्कूलको सभाहलमा बुधबार आयोजित पाँचौँ नगरसभामा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले कला, संस्कृति, सम्पदाले भरिएको महानगरपालिकाले अहिले कोरोनासँग लड्दै थप विकास कार्यलाई अघि बढाउनुपर्न बताए ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख महर्जनले सबैको सहकार्य र समन्वयमा महानगरको हरेक सम्भावनालाई मूर्त रुप दिनु नै आजको मुख्य दायित्व रहेको बताए ।
कोरोना विशेष नीतिलाई समावेश गरेर पूर्वाधार, खानेपानी, सम्पदा, सामाजिक विकास, शिक्षा, जनस्वास्थ्य, संस्कृति, वातावरण, कृषि पशु लगायत क्षेत्रमा विविध नीतिहरु ल्याएको हो ।
पूर्वाधार विकास अन्तर्गत प्रत्येक वडामा न्यूनतम एक सार्वजनिक शौचालय बनाउने नीति लिइएको छ । वडामा सार्वजनिक स्थल उपलब्ध भएसम्म एक हरियाली पार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरभित्र शौचालय लगायत जुनसुकै सार्वजनिक पूर्वाधार अपाङ्गता मैत्री बनाइनेछ ।