काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६०६ जनामा पिसीआर परीक्षणमा ५५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । शनिबार थपिनेमा १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमा १० हजार ९४० पुरुष र १ हजार ३६९ महिला रहेका छन् ।
आज थपिएका संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङ्जाका २६ जना छन् ।
त्यसैगरी, चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ , काठमाडौँका ४, भक्तपुरका १ , नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार शनिबार देशभर ६५ हजार ७१२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट २ लाख १० हजार ८७६ जना र आरडिटी विधिबाट २ लाख ९४ हजार ३४ जनाको परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टाका अवधिमा १८ महिलासहित १३६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । जसमा ११८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ हजार ८३४ पुगेको छ । जसमा २४२ जना महिला रहेका छन् भने २ हजार ५९२ जना पुरुष रहेका छन् ।
नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
आज कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. ७ बस्ने ५० वर्षिय पुरुष कोरोना भाइरसबाट मृत्यू भएको छ । उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा सारिएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममै शनिबार बिहान उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।