काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार थप ५ जनामा कोरोना भाइसर (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा उपत्यकामा थप ५ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका नयाँ संक्रमित काठमाडौं र भक्तपुरमा देखिएका हुन् ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार काठमाडौंमा १ महिला, ३ पुरुष र भक्तपुरमा १ पुरुषमा कोरोना पोजिटिभ देखिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उपत्यकामा ५ सहित आज देशभर ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमा पुरुष १० हजार ९ सय ४० पुरुष र १ हजार ३६९ महिला रहेका छन् । डा. गौतमले नेपालमा ७७ जिल्लामै कोरोना सङ्क्रमण देखिएको बताए ।
मन्त्रालयका अनुसार शनिबार देशभर ६५ हजार ७१२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट २ लाख १० हजार ८७७ जना र आरडिटी विधिबाट २ लाख ९४ हजार ३४ जनाको परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टाका अवधिमा १८ महिलासहित १३६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । जसमा ११८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ हजार ८३४ पुगेको छ । जसमा २४२ जना महिला रहेका छन् भने २ हजार ५९२ जना पुरुष रहेका छन् ।
नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।
आज कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं। ७ बस्ने ५० वर्षिय पुरुष कोरोना भाइरसबाट मृत्यू भएको छ । उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा सारिएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममै शनिबार बिहान उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।