ललितपुर । ललितपुरको वागमती गाउँपालिका ४ मा एक बालिकालाई कोरोना संक्रमण भएपछि त्यहाँ रहेको स्वास्थ्य संस्था २ दिनको लागि बन्द गराइने भएको छ ।
प्युटार खयरघारीकी १४ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि आइतबार भएको थियो ।
पाटन अस्पतालमा उपचाररत ती बालिकालाई उच्च ज्वरो आएपछि प्युटारकै स्वास्थ्य संस्थामा जँचाइएको थियो । निमोनिया भइसकेको हुनसक्ने र त्यसको उपचार काठमाडौंमै गर्दा राम्रो हुने डाक्टरले सल्लाह दिएपछि ती बालिकालाई विहीबार नै एम्बुलेन्सबाट पाटन अस्पताल ल्याएर उपचार थालिएको हो ।उनको स्वाव संकलन गरी पाटन अस्पतालमै रहेको पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।
बालिकामा कोरोना देखिएपछि उनको सुरुमा उपचार गरिएको प्युटार स्वास्थ्य संस्था २ दिन बन्द गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । ‘प्युटारको स्वास्थ्य संस्था २ दिन बन्द गछौं’, उनले भने, ‘बालिकाको स्वावको पुनः परीक्षण रिपोर्ट आउँछ अनि थप निर्णय गछौं ।’ यसैबीच बालिकाको सम्पर्कमा आएकाहरुको सम्पर्क विवरण संकलन गर्ने कार्य भइरहेको उनले बताए । बालिका प्युटार हुँदै भक्तपुर बसेको सबै ठाउँका मानिसको सम्पर्क विवरण संकलन आइतबारदेखि नै सुरु भएको उनले बताए । ‘ती बालिका एम्बुलेन्समा ल्याइएको रहेछ, उनलाई ल्याउने सबैको जानकारी संकलन गरिरहेका छौं र आज दिनभरीमा त्यो काम सक्नेछौं’, उनले भने ।
कतै नगएकी बालिकामा एक्कासी कोरोना देखिएको भन्दै प्युटारका स्थानीयमा खैलाबैला मच्चिएको छ । उनीहरु डराइरहेका छन् । आइतबारदेखि सोमबार विहानसम्म मानिसहरुले डर र चिन्ता मात्रै जनाएको प्युटारका एक शिक्षकले जनाए । गाउँमै कोरोना देखिएको भन्दै उनीहरु आतकिंत भएका हुन् ।