Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, ललितपुर, भक्तपुर र काठमाडौंमा पनि देखियो

कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, ललितपुर, भक्तपुर र काठमाडौंमा पनि देखियो

दैनिकी न्यूज

१५, आषाढ २०७७
कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, ललितपुर, भक्तपुर र काठमाडौंमा पनि देखियो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९१ जनामा पिसीआर परीक्षणमा ४७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । सोमबार थपिनेमा १ सय १२ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७६ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५/५ जना, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक/एक छन् ।

उपत्यकामा ८ जना थपिए
यस्तै, काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार सोमबार देशभर ५७ हजार ३६८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल १० हजार ८५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट २ लाख २३ हजार ६२९ जना र आरडिटी विधिबाट २ लाख ९८ हजार ५८८ जनाको परीक्षण गरिएको छ । आज पिसिआर ७ हजार ७९१ र आरडिटी १ हजार ८२२ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा पुरुष १०८ र १३ महिलासहित १२१ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ३ हजार १३२ जना पुगेको छ । जसमा २६६ जना महिला रहेका छन् भने २ हजार ८६६ जना पुरुष रहेका छन् । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

एक जनाको मृत्यू
ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ३० वर्षिय ती पुरुष रौतहट जयपुर ७ निवासी हुन् ।

उनलाई असार १३ गते स्वासप्रश्वासमा समस्या देखिएपछि ललितपुरको स्टार अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी सोहि दिन पाटन अस्पतालको प्रयोगशालामा लगिएको र असार १४ गते उनमा कोरोना पुष्टि भएको हो ।

ती पुरुषको असार १३ गते राती ८ बजे निधन भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनको शव असार १४ गते नेपाली सेनाले व्यवस्थापन गरेको हो । उनी गत ३ महिनादेखि फोक्सोमा समस्या भएकाले विभिन्न अस्पतालमा उपचाररत थिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २९ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १६:२७:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology