Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपामा विवाद चुलियो, बहुमत नेताद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

नेकपामा विवाद चुलियो, बहुमत नेताद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

दैनिकी न्यूज

१६, आषाढ २०७७
नेकपामा विवाद चुलियो, बहुमत नेताद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
images

रोशन लामिछाने ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी समितिको बैठकमा एजेण्डामै नभएको राजीनामाको विषयले प्रवेश पाएपछि उनी दबाबमा छन् ।
मंगलबार बसेको स्थायी समिति बैठकमा अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले खुलेर प्रधानमन्त्री र पार्टी दुबैपदबाट राजीनामा दिन सुझाव दिए ।
आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र, काठमाडौंस्थित भारतीय दूतावास र आफ्नै पार्टीका केही नेता लागेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठक नियमित एजेण्डामा प्रवेश नै नगरी उनको राजीनामामाथि केन्द्रित भएको हो ।

‘विशेषत मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीजीले नक्सा छापे वापत भारतले सरकार ढाल्न खोजेको, हाम्रा साथीहरु पनि लागेको भन्ने आशयले बोल्नु भयो । त्योबारेमा छलफल गर्नुपर्‍यो । प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ,’ बैठकको सुरुमै बोलेका प्रचण्डले भने ।

भारतको हस्तक्षेपविरुद्धमा लडेका सबै यहीं भएको भन्दै भारतको योजनामा काम गर्ने र भारतले योजना बनाएको भनेको के हो भनेर प्रश्न पनि गरे ।

प्रचण्डले दोस्रो विषय राखे । ‘दल दर्ताको कुरा आएको छ । त्यसमा केपी कमरेडको नै संलग्नता वा कतैबाट दवाव भएर गरिएको भन्ने पनि कुरा आइरहेको छ । भएको के हो ?
अनि उनले यस्तै काम गरेका कारण ओलीजीले पार्टीमा र सरकारमा विश्वास गुमाउँदै जानुएको छ भन्दै घुमाएर राजीनामा दिन सुझाव दिए ।

त्यसपछि प्रधानमन्त्री ओली बोले । उनले भारतको विरोध गर्दा साथीहरुले किन चित्त दुखाउनु पर्ने ? भन्दै प्रश्न गरे ।

तपाईंहरुले आ–आफ्नो मर्यादाको मात्र कुरा गर्ने ? आफूलाई सधैं पद चाहिने ? ३१ वर्ष अध्यक्ष भएपछि पनि फेरि पद चाहिने ?’ ओलीले प्रचण्डलाई सोधे ।

प्रधानमन्त्री ओलीले आफूले पार्टी दर्ता नगरेको र गर्न नलगाएको स्पष्टीकरण दिए। ‘मैले पार्टी दर्ता गरेको हैन । त्यसबारे मलाई थाहा छैन । नागरिकहरुले दर्ता गर्न पाउँदैन ? कसैले गरे होला,’ ओलीले भनेका थिए, ‘म यही पार्टीको अध्यक्ष हुँ, मेरो पार्टी यही हो ।’

त्यसपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीले गुटबन्दी गरेको भन्दै राजीनामा माग गरे । ‘उहाँले पार्टी र सरकार दुवै चलाउन सक्नुभएन । खाली गुटबन्दीमात्रै गर्नुभयो । दुई बर्ष भयो सरकार बनेको । मन्त्रिमण्डल गठन, पुगर्नगठन गर्दा पनि गुटको आधारमा भयो, सरकारका नियुक्तिहरु पनि गुटको आधारमा भयो, अग्रगतितर्फको कुनै कदम चाल्न सक्नुभएन । पार्टीमा विधि र पद्धति मानिएन । खाली आफ्नो गुटको आधारमा सञ्चालन गर्न खोजियो । त्यसकारण तपाईले दुवै पदबाट राजीनामा दिनुस् ।’

नेता खनालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन कसले दिएको हो त्यसबारे छानविन हुनुपर्ने माग गरे ।

खनालपछि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल बोलेका थिए । उनले प्रधानमन्त्री ओलीमा दम्भ र अहंकार बढेको भन्दै राजीनामा दिन सुझाव दिए । ‘उहाँमा दम्भ, अंहकार छ । आत्मालोचना पटक्कै नगर्ने कार्यशैली छ । कोही एक्लैले बनाएको पार्टी हैन, हामी सबैले दुख गरेर बनाएको पार्टी हो ।’
उनले पनि पार्टी दर्ताको बिषयमा छानविन हुनुपर्ने बताए ।

त्यसपछि उपाध्यक्ष बामदेव गौतमले सुरुमै दल दर्ताको बिषयमा बोलेका थिए । उनले भने, ‘म त विश्वस्त छु, पार्टी दर्ताको निवेदन दिएको केपीकै निर्देशनमा हो । त्यसबारे छानविन होस् ।’

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले बलजफ्ती नगरी दुवै पदबाट राजीनामा दिन सुझाएका थिए । ‘मदन जयन्तीको दिन उहाँले बोलेको कुरा विल्कुल गलत छ, आपत्तिजनक छ । यो कारण पनि उहाँ प्रधानमन्त्री रहिरहन मिल्दैन । सबैले विरोध गरेपछि उहाँले किन बलजफ्ती गर्ने रु पार्टी र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुस्,’ गौतमको भनाई थियो ।

त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ बोलेका थिए । प्रधानमन्त्रीले व्यक्तिगत स्वार्थका लागि कुटनीतिक र परराष्ट्र सम्बन्धलाई खेलवाड गर्ने काम भएको बताएका थिए ।

यसअघि सरकारले दुई विवादास्पद अध्यादेश जारी गरेपछि गत बैशाख तेस्रो साता नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

images
प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - २२:३०:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology