काठमाडौं । प्रहरीले स्याङ्जा र दाङबाट जुवातास खेलीरहेको अवस्थामा जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
स्याङजा, पुतलीबजार नगरपालिका–१ नारायणस्थानस्थित राजन श्रेष्ठको शशि खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नगद ५९ हजार ८ सय ३५ रुपैयाँ र २०८ पत्ती तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका–१ नागस्थानस्थित अगन्धर अधिकारीको लक्ष्मी खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ८ हजार ५ सय ३० रुपैयाँ र २०८ पत्ती तास सहित सोमबार पक्राउ गरेको छ । दुवै स्थानबाट पक्राउ परेका व्यक्तिहरु उपर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
दाङ, घोराही उपमहानगरपालिका–३ गोल्लीस्थित न्यू ड्रिम रेस्टुरेन्ड एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय मुगीराम घर्ती मगर समेत १० जनालाई नगद १ लाख १६ हजार ३ सय ६१ रुपैयाँ र ५ गड्डी तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त रेस्टुरेन्ड एण्ड लजमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।