ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन्।
सिराहको औराही गाउँपालिका वडा नं. ३ का काटेश्वर बस्ने वर्ष २४ को दुर्गेस यादवले बुधबार बिहान आत्महत्या गरेका हुन्। उनलाई प्रहरीले ललितपुरको ग्वार्कोबाट असार १४ गते नियन्त्रणमा लिएको थियो ।
उनी जबरजस्ती करणी उद्योग मुद्दामा पक्राउ परेको ललितपुरका प्रहरीका प्रवक्ता एसपी तुल बहादुर काकर्कीले जानकारी दिए। पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो। यादवमाथि शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो ।
उनले तन्नाको पासो लगाएर बाथरुममा झुण्डिएर आत्महत्या गरेका एसपी कार्कीले जानकारी दिए । बाथरुममा झुण्डिएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो। अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको हो। जिल्ला अदालत ललितपुरबाट असार १५ गते म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।