काठमाडौं । सवारी दुर्घटनामा परी ५ जनाको मृत्यू भएको छ ।
काभ्रे, धुलिखेल नगरपालिका–२ रविओपीस्थित सडकमा बा ४ ख ६३८६ नम्बरको टिपरले बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक धुलिखेल नगरपालिका–२ बस्ने ५३ वर्षीय बेद प्रसाद कोईराला र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय गोबर्धन कोईरालाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयाचोकस्थित सडकमा ज ३ प ७०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठा बस्ने २५ वर्षीय बिजय कुमार शर्मा र मोटरसाइकलमा सवार उनकै आमा ४५ वर्षीया धर्मवती देवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ बंगरी पुलस्थित सडकमा ना ३ ख ४८९३ नम्बरको ट्रकले ना २ ह ५०७१ नम्बरको अटोलाई बुधबार राति ठक्कर दिँदा अटो चालक पर्सा वीरगंज महानगरपालिका–२७ बस्ने ३१ वर्षीय कृष्ण महरा चमारको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।