Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सडकमा निस्किँदा मास्क अनिवार्य, नलगाए पक्राउ

सडकमा निस्किँदा मास्क अनिवार्य, नलगाए पक्राउ

दैनिकी न्यूज

२३, आषाढ २०७७
सडकमा निस्किँदा मास्क अनिवार्य, नलगाए पक्राउ
images

काठमाडौंं । लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ । सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गराउन भनेको हो ।

लकडाउन जारी रहेका बेला आमसर्वसाधारणलाई काम नपरी घर बाहिर ननिस्कन भनेको मन्त्रालयले मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गरिने जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताए ।

‘कोरोना संक्रमणको खतरा कायमै छ, लकडाउनसमेत जारी छ, यस्तो अवस्थामा काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने ।
प्रहरीले सोमबारबाटै मास्क नलगाई सडकमा हिँड्नेहरूलाई पक्राउ गर्न थालिएको र देशभर मातहतलाई सोहीअनुसार गर्न निर्देशन गरिएको बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी निरजबहादुर शाहीले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने बताए ।

‘सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गर्न देशभरका मातहतका निकायलाई निर्देशन भइसकेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता शाहीले भने ।

गृहले आम सर्वसाधारणमा जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन तथा एकअर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्न पटक पटक आग्रहसमेत गरिसकेको छ ।

सोमबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति ९सिसिएमसी०को बैठकमा भएको छलफलमा गृहसचिव महेश्वर न्यौपानेले संक्रमण कायमै रहेका कारण थप सतर्कता आवश्यक रहेको बताएका थिए ।

बैठकलगत्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई मास्क प्रयोग नगर्ने र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०७:२८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology