Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तस्करीमा संलग्न रहेको आरोपमा एकैपटक ११ प्रहरीमाथि अनुसन्धान

तस्करीमा संलग्न रहेको आरोपमा एकैपटक ११ प्रहरीमाथि अनुसन्धान

दैनिकी न्यूज

२४, आषाढ २०७७
तस्करीमा संलग्न रहेको आरोपमा एकैपटक ११ प्रहरीमाथि अनुसन्धान
images

विराटनगर । सीमा क्षेत्रमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने तस्करीमा संलग्न रहेको आरोपमा मोरङका ११ जना प्रहरी एकैपटक अनुसन्धानमा तानिएका छन् । समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा आयात गरेर भारततर्फ तस्करी गर्ने कार्यदेखि भारतबाट अवैध रुपमा नेपालमा सामान भित्र्याउने कार्यमा सीमा क्षेत्रको सुरक्षामा खटिने प्रहरीको संलग्नता देखिएपछि उनीहरूमाथि अनुसन्धान सुरु गरिएको हो ।

प्रदेश १ प्रहरी कार्यालयले चारजना र मोरङ प्रहरीले सात जना प्रहरी सदस्यहरूलाई एउटै घटनामा संलग्न आरोपमा अनुसन्धान थालेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । अनुसन्धानको दायरामा आउनेमा जुनियर प्रहरी अधिकृतसहित जवानहरू रहेका छन् ।

प्रदेश १ प्रहरी कार्यालयको एउटा टोलीले विराटनगर–१२ बखरी क्षेत्रमा भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको कपडा गत असार १८ गते पक्राउ गरेपछि ड्युटीमा रहेका प्रहरीको बद्नियत खुलेको थियो । पाँच लाख रुपियाँ मूल्य बराबरको सामान भन्सार छलेर ल्याउँदैगरेको अवस्थामा को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाइकलसहित चालक विराटनगर–१५ निवासी राजा पासवान, विशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अविनाश चौधरीलाई नियन्त्रणमा लिइएको थियो ।

त्यो सामान नेपाल भित्र्याउँदा इलाका प्रहरी कार्यालय रानीको छुट्टाछुट्टै टोली मटेर्वा र दरैया नाकाको डयुटीमा रहेको थियो । तस्करी भएर भित्रिएको सामान नियन्त्रणमा लिन नकसेपछि थप फोर्सका लागि मटेर्वा नाकाको टोलीले इलाका प्रहरी कार्यालय रानीको सञ्चारमा रिपोर्ट गरेको थियो । सञ्चारमा खटिएका प्रहरीले रानीका प्रहरी निरीक्षक दीपक थापालाई जाहेर गर्नुपर्ने सूचना हवल्दार केशव कार्कीलाई जाहेर गरेको खुलेको छ । प्रहरी हवल्दार कार्कीले सञ्चारमा सामान वैध भएको जानकारी गराएपछि मटेर्वा नाकाको टोलीले पिछा गर्न छोडेको र प्रदेश १ प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । त्यसपछि सीमा क्षेत्र मटेर्वा, दरैया र सञ्चारमा खटिने प्रहरीहरू अनुसन्धानमा तानिएका हुन् ।

प्रदेश १ प्रहरी कार्यालयले सामान नियन्त्रणमा लिएपछि तत्काल दरैया नाकामा खटिएका चारजनामाथि अनुसन्धान थालेको हो । उनीहरूमाथि भएको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालयले त्यही घटनामा संलग्न थप सात जनामाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

उपरीक्षक खड्काका अनुसार अन्तरदेशीय तस्करीको कारोबार रोक्न कठिन भइरहेको अवस्थामा प्रहरी सङ्गठनभित्रैका सदस्यहरूको मिलेमतो हुनसक्ने सम्भावनालाई अध्ययन थालिएको छ । घटनामा संलग्नहरूलाई ड्युटीबाट हटाएर अनुसन्धान सुरु गरिएपछि जिल्ला प्रहरी कार्यालयभित्र कार्यरत कतिपय प्रहरीसमेत संलग्न रहेको खुलेको छ ।

प्रहरीले समुन्द्रपारबाट नेपाल भित्र्याएर भारत तस्करी गरिने सामानको तथ्याङ्कसमेत अध्ययन गरेर सीमा क्षेत्रमा कडाइ गर्ने तयारी सुरु गरेको उपरीक्षक खड्काको दाबी छ ।

विराटनगर भन्सार कार्यालयबाट गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा केराउ, सुपारी, सुकमेल र छोकडाको आयात बढेको छ । नेपालमा आयात गरिएको उक्त सामान सीमा क्षेत्रमा भण्डारण गरेर भारतर्फ निकासी हुने गरेको छ ।

प्रहरीले समुन्द्रपारबाट नेपालमा खपत हुनेभन्दा धेरै सामान आयात गरेर सीमा क्षेत्रमा भण्डारण गरेको सूचना पाएसँगै तस्करी हुने मुख्य नाकामा छड्के गस्ती बढाउने उपरीक्षक खड्काको भनाइ छ । मोरङको दरैया, मटेरुवा, तरिगामा, खयरबना, नोचा, मायागञ्ज, डाइनियाँ र रङ्गेली तस्करीका मुख्य नाकामा पर्दछन् ।

गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - ०६:३६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology