ललितपुर । महालक्ष्मी नगरपालिकाले पीसीआर परीक्षणको दाउरा बढाएको छ ।
नगरपालिकाको समन्वयमा शनिबार एकै दिन २ सय १३ जनाको परीक्षण गरिएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । तीमध्ये संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समुदायका १ सय ३९ जना रहेका छन् । । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना परीक्षण गरिएको हो’, उनले भने, ‘यस कार्यक्रमले नगरवासीलाई थप सुरक्षित राख्न मद्दत गर्ने र समुदायस्तरमा संक्रमण रहे नरहेको थाहाँ पाउन र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भावी दिनमा अपनाउनु पर्ने रणनीति तय गर्न पनि मद्दत गर्ने विश्वास लिएका छौं ।’ समुदायस्तरको परीक्षणलाई निरन्तरता दिइने उनले बताए ।
विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमित भेटिएको हो ।
नगरपालिकाले वडा नम्बर ७, ८ र ९ मा संक्रमित भेटिएसँगै लकडाउनलाई कडाइ गरेको छ ।
नगरपालिकाका नागरिक, राजनीतिक दल, सामाजिक संघ संस्थाले कोरोना संक्रमणबाट जोगिन विगतदेखि नै सहयोगी भूमिका खेलेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै संक्रमण निर्मूल बनाउन आगामी दिनमा पनि अझै सहयोग पाउने नगरप्रमुख श्रेष्ठले अपेक्षा गरेका छन् ।