माडी, चितवन । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफूले संयमता अपनाएकै कारण पार्टी ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् ।
पार्टीमा देखिएको विवादकैबीच बाढी तथा कटानको स्थलगत अवलोकनका लागि गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले देश र पार्टीलाई दुर्घटनामा जान नदिन आफूले अन्तिम समयसम्म मिहेनत गर्ने दाबी गरे ।
शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु पार्टी एकतालाई कमजोर पार्न हुँदैन भन्ने कुरामा दृढ रहेको बताए।
‘पार्टी अध्यक्षको र तपाईंहरुको जनप्रतिनिधिको हैसियतले मैले देश दुर्घटनामा जाने, पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउँछु’, उनले भने, ‘मैले हतार गरेको भए दुर्घटना वा अर्को के हुन्थ्यो मैले भन्न सक्दिनँ।’
प्रचण्डले एकतामा असर गर्नेगरि हतार गर्ने छुट कसैलाई पनि छैन भनेर आफूले पहल गरिरहेको बताए।
पार्टी एकता ऐतिहासिक र असाधरण काम भएको बताउँदै उनले यसलाई कमजोर बनाउन नहुने बताए।
उनले पार्टीभित्र केही समस्या र अप्ठ्याराहरु रहे पनिे कुनै न कुनै समझदारी गरेर अगाडि बढ्ने बताए।
‘पछिल्लो प्रयासको संकेत पनि मैले तपाईंहरुलाई गरेँ, अफ्ठ्यारो त छ, अफ्ठ्यारो भए पनि देश र जनतालाई अगाडि राखेर, देशलाई, जनतासँग गरेको प्रतिवद्धतालाई अगाडि सोच्यौ भन्ने हल निस्कन्छ भन्नेमा म विश्वस्त छु’, प्रचण्डले भने, ‘अध्यक्ष र प्रधानमन्त्रीसँग भएको पछिल्लोपटक भएका कुराहरुको संकते पनि हल गर्नुपर्छ भन्नेतिरै छु ।'
अध्यक्ष प्रचण्डले पार्टी फुटलाई फाइदा हुने कुनै पनि गतिविधि नगर्न समेत कार्यकर्ता आग्रह गरे।
‘तपाईंहरुले हतार गरेर, अधैर्य गरेर कुनै खालको गतिविधि गर्न जरुरी छैन’, उनले भने, ‘हतारमा केही गर्नुभयो भने नगर्ने काम गरिएछ भनेर पछुताउनु पर्नेछ।’ उनले कार्यकर्तालाई पार्टी एकताको पक्षमा, कार्यदिशा, कार्यक्रम, विधानका पक्षमा दृढातापूर्व उभिन समेत उनले कार्यकर्तालाई आग्रह गरे।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवाद छोडेर चितवनका विभिन्न ठाउँ पुगेका प्रचण्डले बाढी प्रभावित क्षेत्रको अवलोकन गरे पीडितसँग कुरा पनि गरेका थिए । उनले बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए ।