बेनी । अविरल वर्षापछि गएको पहिरोले म्याग्दीका विभिन्न स्थानमा घर पुरिँदा मृत्यु हुनेको संख्या २७ पुगेको प्रहरीले जनाएको छ ।
शुक्रबार विहानदेखि परेको वर्षासँगै गएको पहिरोमा परी चार जना वेपत्ता छन् । १२ जनालाई उद्धार गरेर हेलिकप्टरबाट पोखरा र काठमाडौंको अस्पतालमा ल्याइएको छ ।
धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा बढी धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा पनि असर पारेको छ ।
धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी ६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, ७ वर्षकी करिश्मा, ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।
प्रहरीका अनुसार धवलागिरी ६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ का सविन पुन हराइरहेका छन् ।