काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्ने आज (सोमबार) अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परेपछि आजैदेखि निष्काशन तथा बिक्री बन्द गर्ने भएको हो ।
इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ मा तेस्रो दिन (आइतबार) सम्ममा ५ दशमलव ४० गुणा बढी आवेदन परेको छ ।
बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार असार २८ गते बेलुका पाँच बजेसम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता अर्थात १ अर्ब ४७ करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन छ ।
अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि ३० लाख कित्ता आईपीओ निष्काशन गरेको छ । सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।
यो आईपीओमा छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ । भने खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।
विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।
अजोड इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।