काठमाडौँ । शुक्रबार सुनको मुल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्य प्रति तोलामा १ हजार ३०० रुपैयाँले बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ । तर बिहीबार छापावाल सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहिबार तेजाबी सुनको मूल्य प्रति तोला ९५ हजार ३६५ रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर प्रति तोला १ हजार १ सय ५० रुपैया पुगेको छ । बिहीबार ११४५ रुपैयाँमा कारोबार भएको थियो ।

कोरोनाको कारण लगानीका क्षेत्रहरु अस्थिर हुँदा सुनमा लगानी बढेकोले अन्तर्राष्ट्रिय क्षेत्रमा सुनको भाउ बढ्दै गएको सुनचाँदी व्यवसायी तेज रत्न शाक्य बताउँछन् । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकाले नेपाली बजारमा पनि सुनको भाउ बढ्दै गएको उनले बताए । सुनको भाउ अझै बढ्न सक्ने शाक्य बताउंछन् ।