Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

दैनिकी न्यूज

१२, श्रावण २०७७
अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो
images

वीरगञ्ज । अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ ।

आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योगहरुले भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फैलाएको व्यापक जनगुनासो आएको स्पष्ट पार्नुभयो । यही गुनासोका आधारमा ती उद्योगहरुको अनुगमन सुरु गरिएको पनि बस्नेतले बताउनुभयो ।

उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ । कामदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ । कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था मिलाउनुपर्छ । तर यो मापदण्डलाई पर्सा–बारा औद्योगिक करिडोरका अधिकांश उद्योगले पालना नगरेको जनगुनासो छ ।

वीरगञ्ज भिस्वाका धिरज पासवनले भारतीय कामदार सहजै भित्रिइरहेका र उद्योगले कुनै होशियारी वा सुरक्षा मापदण्ड नअपनाई ती कामदारलाई काममा लगाएकाले समुदायमै सङ्क्रमण फैलिएको आरोप लगाउनुभयो । भारतीय कामदारहरु टोलटोलमा देखिने गरेको स्थानीयले बताए ।

वीरगञ्ज र पर्सा –बारा औद्योगिक करिडोरमा रहेका ट्रक÷बसको बडी बनाउने, टायर मर्मत गर्ने, सवारी साधनका मेसिनरी सामान बेच्ने र मर्मत गर्ने वर्कसपमा भारतीय कामदारहरु देखिने गरेका छन् ।

वीरगञ्जको सुख्खा बन्दरगाहमा दैनिक दुई–तीन सय भारतीय कामदार आएर काम गरेर फर्किने गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले भने उद्योगले त्यसरी अवैद्य रुपमा कामदार ल्याएर काममा लगाएको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । तर ‘अनुसन्धान गरेर पुष्टि भए त्यस्ता उद्योग र उद्योगीलाई कारबाही गर्न म आह्वान गर्दछु’– अध्यक्ष केडियाले भन्नुभयो ।

पर्साको प्रहरी उपरिक्षक गंगा पन्तले पर्सामा १०७ किलोमिटर खुला सीमा रहेकाले प्रहरी उपस्थित नहुने क्षेत्रबाट भारतीय अवैद्यरुपमा भित्रिन सक्ने सम्भावना रहेको बताउनुभयो । भारतीयलाई अवैद्यरुपमा नेपाल भित्र्याउन सहयोग गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकमा दीपकप्रसाद गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - ०६:५०:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology