काठमाडौँ । सोमबार सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य प्रति तोलामा १ हजार २०० रुपैयाँले बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । तर आइबार छापावाल सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ६० रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५५ रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय १० रुपैयाँ पुगेको छ । शुक्रबार १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ । सरकारले सुनमा गरेको भन्सार वृद्धि र अन्तर्राष्ट्रिय बजारमा शेयर मूल्यसमेत घट्दै गएकाले सुनमा लगानी बढ्दै गएको छ । सरकारले बजेटमार्फत प्रति दशग्राम सुनमा २ हजार रुपैयाँ भन्सार बढाएको थियो ।
हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको जानकारहरुको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको व्यवसायीको भनाई छ ।