काठमाडौं । नेपाली बजारमा सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । आज तोलामा ३०० रुपैयाँ बढेर छापावाल सुनको भाउ तोलाको ९९ हजार ६०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन भाउ हालसम्मकै उच्च भाउ हो । शुक्रबार सुन ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघका अनुसार सुनको भाउसँगै चादीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो।
अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला सुरक्ष्ँित लगानीका रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।
सुनको मूल्य यसरी निरन्तर रुपमा बढ्दै जानुलाई डलरप्रतिको अविश्वासको रुपमा हेरिएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर र सुन दुवैलाई लगानीको सुरक्षित क्षेत्र मानिने गरिएकोमा कोरोनाभाइरससँगै अमेरिकी अर्थतन्त्रमा देखिएको संकटका कारण डलरप्रतिको विश्वसनीयता गुम्दै गएको देखिन्छ ।