Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज गाईजात्रा पर्व मनाईंदै

आज गाईजात्रा पर्व मनाईंदै

दैनिकी न्यूज

२०, श्रावण २०७७
आज गाईजात्रा पर्व मनाईंदै
images

काठमाडौं । आज गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रममा गराउँदै यो पर्व मनाउँछन् ।

यस पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।

यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरि रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

काठमाडौं उपत्यकालगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा पनि यो पर्व मनाइन्छ ।

उता, भक्तपुरमा निकालिने गाईजात्राको भने छुट्टै रौनक र आकर्षण छ । त्यहाँ आठ दिनसम्म यो पर्व चल्दछ ।

भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने चलन छ ।

त्यहाँको घिन्ताङकिसी र माँक प्याखँ अर्थात् बाँदर नाच अर्को विशेषता हो ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०६:२४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology